काठमाडौमा कति रुपैंया किलोमा पाईन्छ आफ्नै देशको उत्पादन स्वादिलो जुम्ली स्याउ ?
तपाइँ आत्मनिर्भर अर्थतन्त्रको कुरा गर्नुहुन्छ भने भारत र चीनबाट ल्याईएको स्याउ खाएर धाक नलाउनुस, हाम्रै जुल्लामा फलेका अर्गानिक स्याउ खाएर नेपाली किसानलाई मायाँ गर्नुहोस्, जुम्लाका स्याउ राजधानीमै सस्तो मूल्यमा उपलब्ध छ । तर बेच्नेहरु उत्साहित छैनन् र किन्नेहरु पनि मुन्टो बटार्छन किन ?
जुम्लाको स्याउ स्वाद र स्वास्थ्यको हिसाबले एकदम राम्रो मात्रै छैन, सस्तो पनि छ । चीन र भारतबाट आएको स्याउ तीनसय रुपैयाँ प्रति किलोसम्ममा ब्यापारीहरुले बेचिरहेको बेला जुम्लाको स्याउ एक सय ७५ रुपैयाँमै पाईन्छ तर समस्या यही छ कि काठमाडौका ब्यापारीहरु जुम्लाको स्याउ बेच्न चाहदैनन् । समस्या के छ जुम्लाको स्याउमा ? एउटै समस्या हो, जुम्लाको स्याउ बेच्दा नाफा धेरै आउँदैन । बिदेशी स्याउ जस्तो टिलिक्क नटल्कने भएकाले उपभोक्ता पनि जुम्लाको स्याउ भनेपछि मुन्टो बटार्छन।
जुम्ली स्याउ ब्यापारी गंगादेबी राउत भन्नुहुन्छ – हाम्रो स्याउ स्वस्थ र स्वादिलो छ तर बिदेशी स्याउजस्तो टलक्क हुँदैन । बिषादी नहालेको हुँदा लागहरु हुन्छन् । बोटबाट टिप्दा डोकोमा हालेर ओसार्नुपर्ने भएकाले स्याउमा चोटहरु लाग्छन् तर राजधानीबासीहरुलाई यो पच्दैन ।
कर्णाली अन्चल अर्गानिक क्षेत्र भएकाले त्यस क्षेत्रमा रासायनिक मल र बिषादी बर्जित छ । त्यसैले जुम्लाका स्याउमा बिषादी छैन ।
गंगादेबीको गुनासो छ -राजधानीबासी स्वास्थ्य र मिठासमा भन्दा आखाँको राम्रोमा विश्वास गर्छन् ।
जुम्लामा बढीमा ७० रुपैयाँ किलोमा स्वादिलो स्याउ पाईन्छ तर स्थानीय ढुवानी र कार्टुन खोजेर प्याकिड. गरी राजधानीसम्म ल्याउँदा यातायात भाडाले नै स्याउको मूल्य दोब्बर भईसकेको हुन्छ । स्वदेशी स्याउलाई प्रबद्र्धन गर्ने प्याकिड. प्रबिधि नहुँदा राजधानी र अरु शहरबाट भारतीय र चिनियाँ स्याउ ल्याईएको कार्टुन खोजेर लगी प्याकिड. गर्नु परेको छ । यसो गर्दा मूल्य झन् बढ्छ । त्यसमाथि बिचौलियाको खेल भयो भने त छोईनसक्नु महंगो हुने नै भयो ।
जुम्ला सिंजाका ब्यापारी साउरे रोकाय यसपालिको दशै अघि जुम्लाबाट दुई ट्रक स्याउ काठमाडौ ल्याउने तयारीमा छन् तर भाऊ पाउला कि नपाउला र बिक्री होला कि नहोला भन्ने चिन्ताले उनलाई सताएको छ । जुम्लाबाट चर्को यातायात भाडा तिरेर काठमाडौ ल्याई स्याउ कोल्ड स्टोरमा राखेर बेच्दा पनि घाटै लाग्यो भने ऋण कसरी तिर्ने भन्ने साउरेको अर्को चिन्ता हो ।
जुम्लाका किसान र ब्यापारीहरुले अनेक समस्या सामना गर्दै राजधानीसम्म स्याउ ल्याउँछन् । यहाँ न त्यो भण्डारन गर्ने ठाउँ छ, न त बेच्ने कुनै संयन्त्र नै । बाटोमा राखेर जुम्लाको स्याउ भन्दै बेच्नु र मेला र उत्सबहरुमा प्रदर्शनीमा राख्ने हो । ब्यवसायिक रुपमा बिक्रीको प्रबन्ध नभएको ब्यापारीहरुको गुनासो छ ।
राजधानीमा भारतीय र चिनियाँ स्याउ बाह्रै मास बिक्री गर्न ब्यापारीहरु सक्रिय छन् । सस्तोमा किनेर महंगोमा बेच्दा ब्यापारीहरुलाई भारतीय र चिनियाँ स्याउले राम्रै कमाई दिन्छ । त्यसमाथि हेर्दा राम्रो भएकाले किन्न आउने धेरैले बिदेशी स्याउ नै रुचाउँछन् ।
बाहिर मैनबत्ती पोतेर रङ्ग दलेको बिदेशी स्याउले मोहनी लगाएपछि आफ्नै देशको चिसो हावापानीमा फलेको जुम्ली स्याउलाई कसले भाऊ देओस् ।