जुम्लाको कृषि ब्राण्ड गंगादेवी : बालखमै बिहे, संघर्षले बनायो सफल उद्यमी
जुम्ला नाम सुन्नेबित्तिकै विकट, पिछडिएको, अवसरले नछोएकोलगायत थुप्रै अन्य विषय दिमागमा आउनु स्वभाविक हो । तर जब जुम्लेली महिला र तीनको उद्यमको संघर्ष सुन्छौँ तब आश्चर्यचकित पर्छौं ।
विराटनगरमा जारी विराट एक्स्पो २०७६ मा जुम्लाबाट संघर्ष गर्दै अघि बढेकी महिला उद्यमी गंगादेवी रावतले स्टल राखेकी छन् । उनको स्टलमा जुम्लाको स्याउ, काली मार्सी चामल, कागुनोको चामल, सिमीको दाल, तीतेफापरको पीठो, जिमु, जौंको सातु, स्याउको चाना र जडिबुटीको चिया प्रदर्शनीमा छ ।

रावत प्रायः मेला तथा एक्स्पोहरूमा सहभागी हुन पुग्छिन् । उनको स्टल अगाडि एक्स्पो आउने अवलोकनकर्ताहरू प्रायः भीड नै हुन्छ । अवलोकनकर्ता सबैले सहज रूपमा बोल्दैनन् । कोही स्याउ त जुम्लाको नै हो नि ? भनेर सोध्छन् । कोही जुम्लाको भनेर ढाँट्या हो कि ? भन्दै आँखा तर्छन् । यस्ता सोधिने रेडिमेट प्रश्नको जवाफ उनी नम्र बोली र मीठो मुस्कानले दिन्छिन् । उनलाई थाहा छ मानिसको मीठो, झर्केर, नम्र, उत्साहित सबैखाले व्यवहार किनकी उनले व्यवसाय गरेको एघार वर्ष भइसक्यो ।

गंगादेवी, कर्णाली प्रदेशको जुम्ला–पाताराशिमा २०३४ सालमा जन्मिएकी हुन् । बुबा परिमण विष्ट र आमा लाहुरी विष्टका पाँच छोरीहरूमध्ये गंगा साइली छोरी हुन् । जुम्लामा शिक्षालाई प्राथमिकता नदिने भएकोले धेरै पढ्ने रहर हुँदाहुँदै पनि उनले पढ्न पाइनन् ।
१२ वर्षको कलिलो उमेरमा नै गंगाको विवाह भयो । उनका श्रीमानले भने त्यो बेलामा नै ५ कक्षा पढिसकेका थिए । विवाहपछिका दिनहरू उनले जुम्लामा नै खेतीपाती गरेर जसोतसो बिताइरहेकी थिइन् ।
उनकी पहिलो सन्तान छोरी भर्खर २ वर्ष लागेकी थिइन् अचानक गंगाको देब्रे कानको शल्यक्रिया गर्नुपर्ने भयो । शल्यक्रियाका लागि उनी आफ्नो श्रीमानको साथ काठमाडौं आइन् । उपचारमा लामो समय लाग्ने भयो, जुम्लातिर शैक्षिक वातावरण पनि थिएन त्यसैले छोरीलाई पढाउन रावत परिवारले काठमाडौं नै बस्ने निधो गरे ।

२०५८ सालतिर श्रीमानको जागिरको तलबले मात्र जिविकोपार्जन गर्न गाह्रो भएपछि उनले पनि गार्मेन्टमा काम गर्न थालिन् । १८ महिनाजति गार्मेन्टमा काम गरेपछि गंगालाई अरुको काम कति गर्नु भन्ने सोच आयो । आफैंले केहि गर्नपर्यो भनेर उनले किराना पसल सुरु गरिन् । गंगाको आँटले पसल चलिरहेको थियो । कतिले सोझी भनेर ठगेर खाएको तीतो पलको पनि सम्झना छ ।
जीवनमा घटेका ती घटनाहरूलाई गंगा सकारात्मक रूपमा नै लिन्छन् । मलाई आज ठगेर खाएको मान्छेलाई पनि त पछि कसैले ठग्छन् होला नि भन्ने सोच्थिन् उनी । जुम्लामा पढ्न नपाएकी उनले काठमाडौंमा प्रौढ शिक्षाको कक्षा लिन थालिन् । ढिलै भएपनि उनले आफूलाई पढ्ने ईच्छा पूरा गरिन् ।
बिहान श्रीमानलाई पसलमा छाडेर उनी पढ्न जान्थिन् र दिउँसो आफैं पसलमा बस्थिन् । उनले पाँच वर्षसम्म पसल चलाइन । पसलबाट कमाइ राम्रो हुँदै थियो । रावत परिवार आर्थिक रूपले सबल हँुदै थिए तर बिस्तारै छोरा–छोरीको पढाइ कमजोर हुँदै गयो ।
आमा बुबा दुवै काममा व्यस्त भएकोले सन्तानको शिक्षामा समय दिन पाइरहेका थिएनन् । उनले सोचिन्, यो सबै सन्तानकै लागि त हो । यदि सन्तानको नै पढाइ बिग्रियो भने त जति कमाए पनि के काम भनेर उसले पसल बेचिन र छोरी छोरीको शिक्षामा ध्यान दिने निर्णय गरिन् । त्यसपछि छोराछोरीको पढाइ पनि राम्रो हुँदै गयो ।

छोरी सविना कक्षा ८ मा पढ्ने भइसकेपछि भाइको रेखदेख म गर्छु, तपाईं केही गर्नुहोस् भनिन् । छोरीले आफूलाई साथ दिँदा उनी खुशी त भइन् तर के गर्ने भनेर अल्मल्ल परिन् । श्रीमानसँगको सल्लाहअनुसार नै उनले फेरि कृषी पेशामा लाग्ने निर्णय गरिन् तर यसपटक भने व्यवसायिक तरिकाले ।
त्यहीबेला गंगाका अंकल सिंह विष्टले एक ट्रक जुम्लाको स्याउ लिएर राजधानी काठमाडौं आए । स्याउ त ल्याए तर कसरी, कहाँ बेच्ने भन्ने कुरा भने कसैलाई थाहा थिएन । जुम्लाको स्याउ भन्ने थाहा पाएपछि खाद्य संस्थान र कृषि बैंकले उनीहरूको ढोका छेउमा स्याउ बेच्नलाई ठाउँ दिए । स्याउलाई खुल्ला ओसारपोसार गर्न अफ्ठ्यारो भएकाले बल्खुबाट स्याउ राख्नलाई प्रयोग भइसकेको कार्टुन किनेर लिएर आए । कार्टुनमा राखेर बिक्री गर्दा कतिले जुम्लाको स्याउ भन्दै झुक्याएर बेच्दा रहेछन् भनेर गाली पनि गरे । जुम्लाकै स्याउ हो भनेर चिन्नेले खुशी हुँदै किने पनि ।
स्याउबाट नाफाभन्दा बढी गाली र अनुभव पाइन्, रावतले । अनुभव र गालीले नैराश्यभन्दा पनि गंगामा उत्साह थपिदियो । त्यसपछि जुम्लाकै सिमी दाल ल्याएर बेच्ने निर्णय गरिन् । एक लाख लगानी गरेर जुम्लाबाट सिमी ल्याएकी रावत भन्छिन्, ‘सिमी त ल्याएँ, बेच्न पनि लगेँ तर कसैलाई पनि सिमीको बारे थाहा नै रहेनछ । किन्न खोज्ने मानिस पनि यो कसरी खानुपर्छ भनेर सोध्थे ।’

सोचेजस्तो बिक्री नभएपछि उनले त्यसलाई फ्याक्नभन्दा पनि मानिसलाई सिमीको स्वाद थाहा होस् भनेर सित्तैमा बाँडिन् । ठूला, नाम चलेका होटलहरू र चिने जानेको साथीलाई मात्रै उनले साढे दुई क्विन्टेल सिमि बाँडिन् । पछि सबैले स्वाद थाहा पाए, मीठो लागेछ त्यसपछि एक, दुई पाँच किलो हुँदै माग बढ्न थाल्यो ।
प्लास्टिकमा हालेर त्यत्तिकै बेच्ने गंगालाई ग्राहकहरूले ब्रान्ड खोज्न थाले । त्यसपछि गंगा र उनका श्रीमानले हिमाली प्रोडक्ट एण्ड ट्रेडिङ सेन्टर २०६५ सालमा दर्ता गराए । कम्पनी दर्ता भइसकेपछि गंगा भन्छिन्, ‘ब्राण्ड स्थापना त गरे तर चिनाउने कसरी ? घाटा नै भोग्दै भए पनि आफैँ मेला, एक्स्पोहरूमा स्टलको पच्चिस हजार तिरेर जान सुरु गरे । संस्था, मानिसहरुले विस्तारै चिन्न थाल्नभयो अनि यसरी नै सुरु भयो मेरो व्यवसाय ।’
गंगा अहिलेसम्म विभिन्न खाद्य मेला, एक्स्पोमा सहभागी भइसकेकी छिन् । भर्खरै मोरङको विराटचौकमा आयोजित खाद्य मेलामा उनी सहभागी भएकी थिइन् । खाद्य गुणस्तर विभागले त्यहाँ सहभागी स्टलमध्ये उत्कृष्ट छनौट गर्दै उनलाई प्रथम पुरस्कारसहित सम्मान गर्यो । खाद्य मेला, एक्स्पोमा सहभागी भएर थुप्रै सम्मान–पत्र पाइसकेकी गंगाले उत्कृष्ट हुँदै प्रथम पुरस्कार भएको भने यो नै पहिलोपटक हो ।

हिमाली प्रोडक्ट एण्ड टे«डिङ सेन्टर सञ्चालन गरेको ६ वर्षपछि २०७१ सालमा उनले आफ्नै नाममा हिमाली कृषि उद्योग दर्ता गराइन् । यसअघिको ट्रेडिङ सेन्टर उनको श्रीमानको नाममा रहेको थियो । रावत भन्छिन्, ‘श्रीमानको आफ्नै जागिर पनि छ त्यसैले कतै हिँड्न भ्याउनुहुन्न, काठमाडौं बसेर नै सबै व्यवसाय हेर्न साथ दिइरहनु भएको छ ।’
जुम्लामा र काठमाडौंमा गरी कूल आठ जना कर्मचारी राखेकी बताउने रावत एक्स्पो, मेलामा भने आफैं नै सहभागी हुने गरेकी बताउँछिन् । जुम्लामा उत्पादन हुने सम्पूर्ण खाद्यान्नहरू काठमाडौं नै ल्याउने गरेको र टे«डिङ सेन्टरमा नै लेबलसहितको प्याकिङ गरिने गरेको उनले बताइन् ।
वार्षिक रूपमा दुई करोडबराबरको कारोवार हुने उनको अनुभव छ । जुम्लामा उत्पादित खाद्यान्न बेलायत निर्यात हुने र नेपालका ठूला घरानाहरूले अर्डर दिने गरेको रावतले बताइन् । सीमित मान्छे र विदेश मात्र नभइ जुम्लामा उत्पादित खाद्यान्न नेपालभरि नै पुर्याउने लक्ष्य लिएर आफूले यस्तो एक्स्पो र खाद्य मेलाहरूमा सहभागी हुने गरेको रावत बताउँछिन् ।